पथरी शनिश्चरेमा २ वडाका केही स्थान सिल गरिने - Crazysaptahik.com

पथरी शनिश्चरेमा २ वडाका केही स्थान सिल गरिने

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरमा मृत्यु भएका मानिसलाई कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या बढेकाले भोलि (आइतबार)बाट १ र २ नम्वर वडाका केही स्थान सिल गरिने भएको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आजको बैठकले त्यस्तो निर्णय गरेको हो । भदौ १७ सम्म घोषित लकडाउनलाई कडाइका साथ पूर्ण पालना गर्न अनुरोध गर्दै सोही अवधिसम्मका लागि १ जना संक्रमित देखिएको वडा नम्वर १ को सुन्दरबस्तीलाई पुरै सिल गरिने निर्णय भएको छ । अर्का संक्रमित देखिएको हनुमानचौक र अन्नपूर्ण चौक दक्षिणका अर्काे संक्रमितको घर परिवार सहित आसपासका घरलाई समेत सिल गरी बाहिर कोहीसँग सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध गर्ने निर्णय भएको छ ।

यस्तैगरी, मृत्यु भएपछि कोरोना देखिएका २ नम्वर वडाको देवीगञ्जका एक परिवार र आपसपासका घरलाई पनि उसैगरी बाहिर सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध गरिने भएको नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राई (किशोर)ले जानकारी दिनुभयो । राईले मृत्यु भएको एक जनामा समेत कोरोना देखिइ संक्रमितको संख्या बढेपछि अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गर्नुभयो । यस अवस्थामा जारी लकडाउनलाई नगरवासीले पूर्णरुपमा पालना गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

विहान ६ बजेदेखि विहान १० बजेसम्म खुल्ने सब्जी, फलफुल, दुधजन्य पसलहरुमा भिडभाड नगरी कम्तीमा २ मिटरको भौतिक दुरी कायम गरी मास्क र ग्लोब लगाएर साबुनपानी वा सेनिटाइजरले हात सफा गरेर मात्र कारोबार गर्न थप सचेत गराइएको छ । सैलुन, जिमहल, व्यूटिपार्लर, होटल सहित सरकारले प्रतिवन्धित गरेका पेशा व्यवसायहरु सञ्चालन नगर्न र घरमै बसेर कोरोनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन अनुरोध छ ।

आज देवीगञ्जका एक ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना देखिएको तथा समुदायका ३ जना र क्वारेन्टिनमा रहेका ४ जनामा समेत संक्रमण देखिएकाले नगरमा थप स्वास्थ्य सतर्कताको आवश्यकता भएको छ ।

समुदायस्तरका ३ जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’को क्रम सुरु भएको छ । समुदायका ३ तथा क्वारेन्टिनमा रहेका ४ गरी ७ जनामा कोरोना पोजेटिभ देखिएको रिपोर्ट आज आएको हो । समुदायस्तरका तिनै जना वडा नम्वर १ का हुन् भनें क्वारेन्टिनमा रहनेमा १ नम्बरका २ जना, २ का १ र १० का १ जना रहेको रिपोर्टमा उल्लेख छ । कोरोनासँग जोडिएर मृत्यु भएको पहिलो र एकैचोटी आएको संक्रमितको यो संख्या नगरको अहिलेसम्मकै बढी हो । यसअघि भारतका १ गरी ८ जनामा संक्रमण देखिएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.