
क्रेजी साप्ताहिक
विराटनगर । मोरङ विराटनगरमा कोरोना पराजित गर्दै संक्रमण मुक्त भएको एउटा परिवारका सदस्यलाई टोलका बासिन्दाले मंगलबार भव्य स्वागत गरेका छन् ।
विराटनगर महानगरपालिका–१२ का किशोर धमलाको परिवारलाई टोलका अगुवा, छिमेकी, बुद्धिजिवीसमेतले फूलका गुच्छासहित स्वागत गर्दै संक्रमण मुक्त भएर सामान्य जीवनमा फर्किएकोमा बधाई दिएका हुन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रदेश १ का अध्यक्षसमेत रहेका धमलामा साउन २८ गते बुधबार कोरोना देखिएको थियो ।
त्यसपछि मारवाडी सेवा सदनको ‘आइसोलेसन’मा भर्ना भएका थिए । उनको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका श्रीमती, छोरी र छोरालाई पनि भदौ १ संक्रमण पुष्टि भएको थियो । किशोर बाहेक तीन जना भने ‘होम आइसोलेसन’मै बसेका थिए । पुनः परीक्षण हुन बाँकी रहेका छोराबाहेक सबैले तीन जनाले मंगलबार कोरोना पराजित गरिसकेका छन् । ‘२० दिनको ‘आइसोलेसन’ बसाईपछि सामान्य जीवनमा प्रवेश गर्दै घर फर्किन पाउँदा हर्षित भएँ,’ धमालले भने, ‘संक्रमण मुक्त भएकालाई पनि समाजले राम्रो दृष्टिले हेर्दैनन् भन्ने सुनिरहेका बेला सबैको सहयोग र सम्मान पाउँदा खुसीको सीमै रहेन ।’ उनले कोरोना पराजित गर्दा युद्ध नै जितेर फर्किएको महसुस भएको जानकारी दिए ।
धमलाले आफन्त, छरछिमेकी र समाजले सकारात्मक व्यवहार देखाइदिए कोरोना सहजै जित्न सकिने रहेछ भन्ने लागेको बताए । अनेक खाले दुरव्यवहारले भने संक्रमितको मनोबल घट्ने, रोगसँग लड्ने क्षमता कमजोर हुने र अरु रोगबाट पनि ग्रसित हुनु पर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।
आफूहरूलाई स्वागत गरेजस्तै हरेक संक्रमितमाथि राम्रो र सकारात्मक व्यवहार गर्दै हौसला दिन सबैमा धमलाले आग्रह गरे । अब आफू संक्रमितको उद्धार र उपकारमा खट्ने बताउँदै धमलाले संक्रमितमाथि भइरहेका गलत हर्कतकाविरुद्ध आवाज पनि उठाउने जनाए ।
धमला परिवारका लागि राखिएको सम्मान कार्यक्रमको अगुवाई गरेकामध्ये जगदिश तिम्सिनाले कोरोना मुक्त भएकामाथि हुने गरेका अनेक दुरव्यवहार बन्द गर्नु पर्ने बताए ।
स्थानीय पदम श्रेष्ठले संक्रमितमाथि भइरहेका विभिन्न खाले दुरव्यवहारको अन्त्य गर्न प्रेरणा मिलोस भनेर संक्रमण मुक्त भएकालाई स्वागत गरिएको जानकारी दिए । संक्रमितलाई पुरानै अवस्था र सामान्य जीवनमा फर्कन समाजका हरेक सदस्यले सहयोग गर्नु पर्ने उनको भनाइ छ ।

