
तीन महिलामाथि विराटनगरमा बलात्कार प्रयास गरिएको १० महिनापछि घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । चार युवा मिलेर बलात्कार गर्न खोजिएको भए पनि दुई जना अझै फरार छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार विराटनगर महानगरपालिका–८ का २० वर्षीय मोहमद सहिद मिया र २५ वर्षीय मोहमद असलम मिया पक्राउ परेका छन् । उनीहरुलाई आइतबार राति विराटनगर–८ कै सुकुम्बासी टोलबाट पक्राउ गरिएको हो । पक्राउ परेकासहित चार जना मिलेर विराटनगर–८ स्थित अशोक चोकनजिक २०७६ मंसिर ५ गते तीन महिलामाथि एकै पटक बलात्कारको प्रयास गरेको जानकारी राईले दिए । उनका अनुसार ३३, २७ र २२ वर्षीया महिलामाथि बलात्कारको प्रयास भएको हो । बलात्कार गर्न खोजेर फरार रहेकामध्ये सहिद र असलम १० महिनापछि पक्राउ परे पनि घटनामा संलग्न २२ वर्षीय मोहमद फारूक मिया र २० वर्षीय मोहमद हसरत मिया अझै फरार छन् । घटनामा संलग्न चारै जना फरार रहेका कारण यस घटनाको अनुसन्धान प्रहरीले अघि बढाउन पाएको थिएन । प्रहरीले पक्राउ परेकाविरुद्ध सोमबार जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

