पथरी शनिश्चरे/ दशैं खर्चको सहजतालाई ध्यानमा राखेर मोरङ पथरी शनिश्चरे १० मा बिहिबार सामाजिक सुरक्षा भत्ता वितरण भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थालाई ख्यालमा राखेर बैंकमा बढ्ने भिडभाड कम गर्न स्वास्थ्य सतर्कता अपनाउँदै कुमारी बैंकका कर्मचारीको साथमा वडा कार्यालयबाट भत्ता वितरण गरिएको कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयँल आचार्यले जानकारी दिनु भयो ।

जनप्रतिनिधि, वडा कर्मचारी, बैंकका कर्मचारी, नगर प्रहरी, शसस्त्र प्रहरी, ‘प्रहरीको साथी म’ सहित समाजसेवी युवाहरुको सहयोगमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर ४ सयको संख्यालाई भत्ता वितरण गरिएको उहाँले जनाउनुभयोे ।

अन्य केही वडाहरुले वडा कार्यालयहरुमार्फत चालु आर्थिक वर्षको पहिलो चौमासिक भत्ता वितरण गरिएको छ ।
७० वर्षमाथिका ज्येष्ठ, अपाङ्गताको क र ख श्रेणी, ६० वर्षमाथिका दलित, ५ वर्षसम्मका दलित बालबालिका, विधवा तथा एकल महिलाका लागि सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा भत्ता वितरण हुने गर्दछ ।


