कानेपोखरी वडा नं. ४ को वार्षिक कार्य प्रगति विवरण सार्वजनिक - Crazysaptahik.com

कानेपोखरी वडा नं. ४ को वार्षिक कार्य प्रगति विवरण सार्वजनिक

क्रेजी साप्ताहिक
पथरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ४ नम्बर कार्यालयले निर्वाचन भएदेखि हालसम्मको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

आइतबार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ को वार्षिक कार्य प्रगति विवरण तथा २०७७/०७८ को योजना, कार्यक्रमको विवरण सार्वजनिक गरेको हो । वडामा आर्थिक वर्ष २०७४/०७५ मा सिलिङ बजेट १ करोडको कार्यक्रम आएको थियो । त्यसपछिको आर्थिक वर्षहरुमा ६० लाखको दरले मात्र सिलिङ बजेट पालिकाबाट छुट्याउँदै आएको थियो ।

वडामा आ.व.मा २०७६/०७७ सम्ममा २ करोड २० लाखको योजनाको काम भैसकेको छ । यस्तै आर्थिक वर्ष २०७४/०७५ मा गाउँपालिकाबाट वडामा ६३ लाख ६ हजार, आर्थिक वर्ष २०७५/०७६ मा ७५ लाख १६ हजार र आर्थिक वर्ष २०७६/०७७ मा ४७ लाख ८० हजार गरी जम्मा १ करोड ८६ लाख २ हजार रकमको बजेट विनियोजन भइ काम सम्पन्न भइसकेको छ ।

यस्तै प्रदेश सरकारबाट हालसम्म जम्मा ३५ लाख र संघीय सरकारबाट जम्मा अहिले सम्म गरेर ५० लाख ४५ हजार ७ सय ६३ रुपैयाँ वडामा कार्यक्रम तथा योजना संचालन भई काम सम्पन्न भइसकेको छ । वडाको सिलिङ बजेट, गाउँपालिका, प्रदेश सरकार र संघिय सरकार गरेर जम्मा ५ करोड ४५ लाख ४७ हजार ७ सय ६३ रुपैयाको वडामा कार्यक्रमहरु संचालन भई काम सम्पन्न भएको वडाध्यक्ष धनबहादुर राईले जानकारी गराए ।

यसैगरी आ.व. २०७७/०७८ को योजना तथा कार्यक्रममा पूर्वधार विकास, संघ संस्था विकास, आर्थिक र सामाजिक गरी १८ वटा योजना तथा कार्यक्रम निर्माण गरी काम सुरु गरेको वडाध्यक्ष राई जानकारी दिए ।

वडा कार्यालयबाट भएको विभिन्न प्रकारको सेवा, वडाको न्याय समितिबाट भएको न्याय सम्पादन ११ वटा सहित सार्वजनिक गरेका थिए । हालसम्म गाउँपालिकाबाट विपन्न वर्गका ४० घर परिवारलाई खरको छानो हटाएर टिनको छानो लगाई दिएका छन् । पालिकाले वडामा सोलार टुकी, घास काट्ने मेसिन, भकारो सुधार, स्यालो ट्युवेल र बायो ग्याँस जस्ता कार्यक्रमहरु विपन्न वर्गका घर परिवारलाई दिदै आएको छ ।

वडामा वडा कार्यालय निर्माणधिन रहेको छ । यसैगरी १५ वेडको अस्पताल निर्माण हुन लागेको छ । यस्तै वयरवन बजार–नारायण चोक कालो पत्रे सडक, हस्तिनापुर कालो पत्रे सडक, रमाइलो बजार–पिङडाँडा कालो पत्रे सडक, हस्तीनापुर–गैरीगाउँ १ नम्बरको ग्राभेल सडक, भलुवा खोलामा पुल, मुसह टोल–मिलन चोक १ नम्बर ग्राभेल लगाएतका कामहरु सम्पन्न भैसकेको छ भने केहीमा हुन बाँकी रहेको छ । कार्यक्रममा वडा सदस्यहरु रोशन लामिछाने गुरुङ, शिव दुलाल, साउनी माझी, श्यामकुमारी वि.क. र वडासचिव गणेश प्रसाद घिमिरे लगायत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.