
राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेश रिमालको निधन भएको छ । टाउकोमा समस्या आएपछि बुधबार न्युरो हस्पिटलमा भर्ना भएका रिमालको शुक्रबार निधन भएको हो ।
उनलाई ब्रेन ह्यामरेज भएको थियो । तालिम तथा प्रशिक्षण विभागका डेपुटी डाइरेक्टर दीपक राज शाहीका अनुसार हिँड्ने क्रममा खुट्टामा समस्या देखिएपछि उनको पाटन अस्पतालमा एमआरआई गरिएको र त्यहाँबाट न्युरो जान सुझाव दिएपछि रिमाल न्युरो अस्पताल लगिएको थियो ।
उनलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार गरिएको त्यसपछि पनि होसमा नआई रिमालको निधन भएको शाहीले जानकारी दिए । भलिबलको पूर्व मुख्य प्रशिक्षक समेत रहेका रिमाल १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको बिच भलिबलका प्रशिक्षक थिए । राखेपले रिमालको निधनमा शनिबार बिहान ११ बजे त्रिपुरेश्वरमा श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाएको छ । रिमालका छोरा अष्ट्रेलियाबाट आजै बेलुका नेपाल आइपुगेका छन् ।

