
क्रेजी साप्ताहिक
मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन पब्लिक लिमिटेडको प्रथम साधारणसभाबाट अशोक साम्पाङ राईको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।
आज (शनिबार) भएको साधारणसभामा अध्यक्षमा अशोक साम्पाङ, सचिव रोहित बास्तोला, सदस्यहरुमा रिता गिरी, चन्द्रकला गुरुङ, नवराज तुम्बापो, गणेश बाछाना, प्रलाद चौहान सार्वजनिक गरिएको छ । कम्पनीमा हरियाली समुदायिक वन उपभोक्ता समितिको बैठकले अध्यक्ष सहित ६ जना पठाउने, नगरपालिका र अन्य क्षेत्रबाट तीन जना ल्याउने विधानमा व्यवस्था रहेको छ ।
पथरी शनिश्चरे नगरमा स्थापित हरियाली सामुदायिक वन समूहमा पर्यटन क्षेत्रको विकास गर्ने हेतुले पब्लिक कम्पनी सुरु भएको हो । वनकै उपभोक्ताहरुको आर्थिक विकास हुने उद्देश्यले कम्पनी स्थापना भएको हो ।

पर्यटन क्षेत्र विकासको लागि २० करोडको शेयर आह्वान भएको थियो । जसमध्ये पहिलो किस्तामा ८ सय २६ जना शेयर सदस्यहरुबाट एक करोड जम्मा भइसकेको छ । कम्पनीको पहिलो साधारण सभालाई पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारी, हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगर लगायतले शुभकामना दिएका थिए ।
कम्पनीको संस्थापक अध्यक्ष देविप्रसाद भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन छलफलपछि पास भएको थियो ।

