टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी फाइनलमा - Crazysaptahik.com

टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी फाइनलमा

गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

राउण्ड रोविन लिग अन्तर्गत शुक्रबार भएको खेलमा गण्डकीले एपीएफलाई र आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई २५-२१, २९-२७, २५-१५ को सोझो सेटमा पराजित गरेको हो । चार टिम सम्मिलित प्रतियोगितामा गण्डकीले ३ खेलबाट ६ अंक जोड्दा एपीएफले ३ खेलबाट २ अंक जोड्‍यो ।

पहिलो खेलमा पुलिससंग पराजित भएपनि गण्डकीले त्यसयता आर्मी र एपीएफलाई पराजित गरी फाइनल पुगेको हो । उता पहिलो खेलमा पुलिसलाई पराजित गरेको एपीएफ आर्मी र गण्डकीसंग पराजित भएको हो ।

यस्तै अर्को खेलमा आर्मीले आर्मीले पुलिसलाई २६-२४, २५-२२, २५-१४ को सोझो सेटमा पराजित गरेको हो । पहिलो खेलमा गण्डकीसंग पराजित भएको आर्मीले एपीएफ र पुलिसलाई पराजित गर्दै ३ खेलबाट ६ अंक जोडेर फाइनल पुग्यो ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा महिला र पुरुषमा समान ४ टोलीको सहभागिता रहेको छ । महिलातर्फ नेपाल पुलिस क्लब फाइनल पुगिसकेको छ ।

अब अन्तिम लिग खेलमा एपीएफ र न्यू डायमण्डबीच हुने खेलपछि फाइनल पुग्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् ।

यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् ।

त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.