
विभागीय टोली एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक स्ट्राइकर सावित्रा भण्डारीले लिगको बाँकी खेल गुमाउने भएकी छिन् । लिग अन्तर्गत सोमबार नेपाल पुलिस विरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन् । ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् ।
‘बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा चोट लागेको छ । उनको एमआरआई गरिएको छ । रिपोर्ट आएपछि मात्रै उनको चोट बारे थाहा हुनेछ ।’ एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले अनलाइनखबरलाई जानकारी गराइन् । सावित्राले गोल गर्न नसके पनि प्रतिस्पर्धात्मक खेल २-१ ले जित्दै एपीएफ उपाधि नजिक पुगेको छ ।
सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् । पुलिस विरुद्ध भने उनी घाइते हुँदै मैदान छाड्न बाध्य भइन् । उनकै स्थानमा मैदान प्रवेश गरेकी रविना गोलेले निर्णायक गोल गर्दै एपीएफलाई जित दिलाइन् । शतप्रतिशत जितसहित १० खेलबाट ३० अंक जोडेको एपीएफ उपाधि नजिक पुगेको छ । आर्मी समान खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ ।
एपीएफले अब विराटनगरसँग अर्को खेल खेल्दैछ । उक्त खेलमा सावित्रा नखेल्ने लगभग पक्का छ । एपीएफकी प्रशिक्षक भगवती थापाले सावित्राले अबको खेल नखेल्ने बताइन् । ‘उनले अबको दुई म्याच खेल्न सक्दिनन् । खुट्टा फोल्ड गर्न सक्ने अवस्थामा उनी छैनन् । त्यसैले खेल्ने सम्भावना कम छ । सायद हामी उनलाई खेलाउँदैनौँ ।’
एपीएफले अब विराटनगरसँगको खेल जितेमा त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नुअघि नै उपाधि जित्नेछ । त्यसका लागि विराटनगरसँग जित्नु पर्ने वा बराबरी खेल्नुपर्ने थापाले बताइन् । ‘विराटनगरको गेम पनि हाम्रो लागि भाइटल नै छ । उपाधि जित्न अब विराटनगरलाई जित्यो भने हुन्छ । त्यो म्याच हार्नु भएन ।
थापाले भनिन् । हार्ने चान्स भन्दा नि खेल हो प्रतिस्पर्धा हुन्छ ।’ उनले आज पुलिससँगको खेल पनि प्रतिस्पर्धात्मक भएको बताइन् । ‘आज पुलिसले यस्तो खेल्ने कसैले अन्दाज गरेको थिएन । खेल समय परिस्थिति अनुसार हुन्छ ।
आजको गेम टाइटल होडको लागि महत्वपूर्ण थियो । हाम्रो लागि एकदमै महत्वपूर्ण थियो । पुलिसको लागि पनि भ्यालु थियो । पहिलो र दोस्रो राउण्डको रिजल्टले फरक गर्छ ।’ प्रशिक्षक थापाले सावित्रा नहुँदा टिममा असर पर्ने पनि बताइन् । ‘उनी नहुँदा असर त गर्छ। हरेक म्याच भाइटल हुन्छ,’ थापाले भनिन्, ‘सावित्रा जसरी स्ट्राइकरको रुपमा छिन् ।
स्कोर गरिराछ भने हाम्रो अर्को स्ट्राइकरमा त्यो क्वालिटी छैन । उनी एपीएफको लागि महत्वपूर्ण छिन् । एपीएफमा मात्र होइन नेपालमै उनी जस्तो क्वालिटीको अर्को स्ट्राइकर देख्दिन ।’ एपीएफले बुधबार विराटनगरसँग खेल्नुअघि दुई विभागीय टोली आर्मी र पुलिसबीच त्यही दिन खेल हुनेछ । उक्त खेलमा आर्मी पराजित भएमा एपीएफले विराटनगरसँग खेल्नुअघि नै उपाधि पक्का गर्नेछ ।

