नयाँ संरचनामा सी डिभिजन लिग : ५२ खेल हुने, ३ टिम बढुवा हुने - Crazysaptahik.com

नयाँ संरचनामा सी डिभिजन लिग : ५२ खेल हुने, ३ टिम बढुवा हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैतदेखि सुरु हुने शहीद स्मारक सी डिभिजन लिगलाई नयाँ संरचनामा आयोजना गर्ने भएको छ । चैत १ गतेदेखि सुरु हुने सी डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

जसमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ । एन्फाले बिहीबार सी डिभिजन लिगको ‘ड्र’ गर्दै खेल तालिका सार्वजनिक गरेको छ ।

सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । दुई समूहको गरेर कूल ४२ खेल हुनेछ ।
पहिलो चरणपछि सुपर लिग हुनेछ जसमा ९ खेल हुनेछ यस्तै रेलिगेसनका लागि एक प्लेअफ खेल हुनेछ ।

‘ड्र’ अनुसार समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन् ।

यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन् । समूह ‘ए’ मा रहेका खालीबारी युथ क्लब र झापाबीच चैत १ गते उद्घाटन खेल हुनेछ ।

त्यही दिन समूह ‘बी’ मा रहेका ओसिस र चर्च ब्वाइजबीच अर्को खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल चैत २४ गते समाज कल्याण खेलकुद केन्द्र र महावीर क्ल

ब तथा स्वयम्भु र वीरगन्जबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणको खेलपछि दुवै समूहका शीर्ष ३ स्थानमा रहने टोली दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गर्नेछन् । जहाँ एक टिमले तीन खेल खेल्नेछ । सुपर सिक्सका एउटा समूहको क्लबले अर्को समूहको तीन क्लबसँग मात्र खेल्नेछ ।

त्यस्तै दुवै समूहको पुछारमा रहने टोलीबीच रेलिगेसनको लागि प्लेअफ खेल हुनेछ । उक्कत खेलमा पराजित हुने टोली ‘सी’ डिभिजन क्वालिफायरमा घटुवा हुनेछ । सुपर लिगको ९ खेलपछि शीर्ष तीन टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् ।

लिगको हरेक खेल प्रतिस्पर्धात्मक बनाउन फरक ढंगले सी डिभिजन लिग खेलाउन लागिएको एन्फाले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.