
मोरङ । केराबारी गाउँपालिकामा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा इटहरीका गजेन्द्र राईको मृत्यु भएको हो।कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले गाउँपालिका ५ स्थित पिपल चौकमा तीव्रगतिमा रहेको को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिए ।
दुर्घटनामा ट्याक्टरका सह–चालक इटहरी ३ का १८ वर्षीय राईको मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए । उनका अनुसार दुर्घटनामा ट्याक्टरले किचेर घाइते भएका राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विहान साढे ९ बजे मृत्यु भएको हो ।
त्यसैगरि, ट्याक्टरमा रहेका इटहरीकै २२ वर्षीय राजु थापा भने घाइते भएका छन् । प्रहरी निरीक्षक ढकालका अनुसार थापाको पनि गम्भीर अवस्थामा धरानमा उपचार भइरहेको छ ।
बेलबारी प्रहरीका अनुसार विहान निर्माण सामाग्री गिट्टी बोक्नका लागि खोलातर्फ जाने क्रममा दुर्घटनामा परेको हो । प्रहरीले ट्याक्टरका चालक इटहरी–३ का २७ वर्षीय राम दर्जीलाई भने आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

