
किलिएन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च लिग वान को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनविरुद्ध सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारको टिम डिजोनलाई ४–० ले पराजित गरेको हो ।
डिजोनको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले दुई गोल गरे । यस्तै मोइस किन र डानिलो पेरेइराले एक एक गोल गरे । एमबाप्पेले ३२औं र ५१औं मपनेटमा गोल गरे ।
त्यसअघि खेलको छैटौं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा डानिलोले पीएसजीको लागि चौथो गोल गरे । जितपछि २७ खेलबाट ५७ अंक जोडेको पीएसजी लियोनलाई पछि पार्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
लिग लिडर लिलेसँग अंकदूरी १ मा झारेको छ । एक खेल कम खेलेको लिले ५८ अंकसहित शीर्ष स्थानमा छ ।

