मड्रिड डर्बीअघि एट्लेटिको उत्साहित हुने कारण - Crazysaptahik.com

मड्रिड डर्बीअघि एट्लेटिको उत्साहित हुने कारण

एट्लेटिको मड्रिड अहिले स्पेनिस ला लिगाको शीर्ष स्थानमा छ । दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोनालाई एट्लेटिकोले यस सिजन पछि पारिरहेको छ । पछिल्ला केही खेलमा राम्रो प्रदर्शन गर्न नसकेको एट्लेटिकोका लागि फेरि राम्रो हुन थालेको छ ।

आइतबार भियारियाललाई २–० ले पराजित गर्दै एट्लेटिकोले तीन खेलको जितविहीन यात्रालाई टुङ्गाएको छ । एट्लेटिकोले आगामी आइतबार मड्रिड डर्बीमा रियलसँग घरेलु मैदानमा खेल्दैछ । जुन खेल उपाधि होडका लागि निर्णायकसमेत हुनसक्छ ।

रियल भने पछिल्लो खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकिएपछि एट्लेटिकोभन्दा ५ अंकले पछि छ । मड्रिड डर्बीअघि डिएगो सिमीओनीको टिमको लागि उत्साहित हुने केही कारण छन् । भियारियाल विरुद्धको जितले एट्लेटिकोले ३ अंक जोड्यो ।

अघिल्लो खेलमा एट्लेटिको लेभान्टेसँग २–० ले पराजित भएको थियो । खेलमा एट्लेटिकोले अवसर बनाएपनि गोल गर्न सकेन । यस्तै च्याम्पियन्सलिग अन्तर्गत रोमानियामा भएको खेलमा एट्लेटिको चेल्सीसँग पराजित भयो ।

एट्लेटिकोले खेलमा गोलको अवसर बनाउन सकेको थिएन । आइतबार भने भियारियाल विरुद्ध एट्लेटिकोको इन्सेन्सिटी र क्रिएटीभिटी राम्रो थियो जसले गर्दा ३ अंक जोड्न सफल भयो । पछिल्ला खेलहरुमा एट्लेटिकोको डिफेन्समा कमजोरी देखिएको थियो ।

जित हात पार्दासमेत गोल खाएको थियो । आइतबार राति भने एट्लेटिकोले डिफेन्समा राम्रो ग¥यो । जसले गर्दा क्लिनसिट राख्न सफल भयो । गोलकिपर जान ओब्लाक र डिफेन्डर फेलिपेले राम्रो प्रदर्शन गरे ।

यस्तै फरवार्ड जाओ फेलिक्सले पनि राम्रो प्रदर्शन गरेका छन् । भियारियल विरुद्ध उनले बेन्चबाट मैदान प्रवेश गर्दै निर्णायक गोल गरे । उनले कठिन समयमा आफ्नो क्यारेक्टर देखाउन थालेका छन् । यस्तै बेटिङका कारण प्रतिबन्धमा रहेका किएन ट्रिपिएर पनि डर्बी खेलमा फर्कँदैछन् ।

उनको आगमनले टिमलाई मनोवैज्ञानिक रुपमा सहयोग गर्ने विश्वास छ । यस्तै एट्लेटिकोले पर्मेसन परिवर्तन गर्दा पनि त्यसले काम गरिरहेको छ । भियारियाल विरुद्ध ३ सेन्टर ब्याक खेलाएको थियो ।

तर त्यसले काम नगरेपछि सिमीओनीले डिफेन्स बलियो बनाएका थिए । दोस्रो हाफमा भियारियलको आक्रमण बलियो बनेपछि सिमिओनीले ५ डिफेन्स खेलाएका थिए । एट्लेटिकोले जुनसुकै विपक्षी विरुद्ध आवश्यकता अनुसार फर्मेसन परिवर्तन गर्न सक्ने क्षमता देखाएको छ ।

यसले डर्बी खेलमा पनि फाइदा पुग्नेछ । यस्तै चोटका कारण बाहिर रहेका यानिक कारास्को पनि मैदान फर्कने सम्भावना रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.