प्रधानमन्त्री कप महिला भलिबल :पुलिस र आर्मीको विजयी सुरुआत - Crazysaptahik.com

प्रधानमन्त्री कप महिला भलिबल :पुलिस र आर्मीको विजयी सुरुआत

नेपालगन्ज । सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमामा साविक विजेता नेपाल पुलिस क्लवले र न्यू डायमण्ड क्लवलाई ३–२ को सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा पुलिसले न्यु डायमण्ड क्लवलाई क्रमश २५–१९, २६–२८, २५–१९, १७–२५, १५–८ ले पराजित गरेको हो । पाँच सेटसम्म खेल चलेकोले जितपछि पुलिसको २ तथा पराजित डायमन्डको १ अंक भएको छ ।

यसैबीच, दोस्रो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले स्थानीय लुम्बिनी युनाइटेड टिमलाई २८–८, २५–८, २५–७ को सेटमा हरायो । जितसँगै आर्मीको ३ अंक पुगेको छ । पराजित लुम्बिनीको शून्य अंक छ । आर्मीकी साफिया पुन प्लेयर अफ दि म्याच चुनिइन् । लिगमा शनिबार दुई खेल हुनेछ ।

दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब लुम्बिनी युनाइटेड टिमबीच ३ बजे प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको शीर्षस्थानमा रहने टोली लिगका च्याम्पियन बन्नेछ ।

प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमन्ड र लुम्बिनी युनाइटेडको सहभागिता रहेको छ । प्रतियोगितामा विजातालाई ५ लाख, दोस्रो हुनेलाई दुई लाख, तेस्रो हुनेलाई १ लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।

गत वर्ष प्रथम पुरस्कार दुई लाखको रहेको थियो । प्रतियोगिताको पहिलो संस्करण नेपाल पुलिस क्लव, दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा भारतको रेलवे ईण्डिया पाँचौमा एपीएफ र छैठौमा पुलिसले विजय हासिल गरेका थिए ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगिताको फाइनल फागुन २५ गते हुन्छ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.