
रोवर्टो लेवान्डोस्कीले आफ्नो पूर्वक्लब बोरुसिया डर्टमण्डविरुद्ध ह्याट्रिक गर्दा जर्मन बुण्डेसलिगामा बार्यन म्युनिखले पुनरागमन जित हात पारेको छ । शीर्ष स्थानको बार्यनले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै डर्टमण्डमाथि ४–२ को शानदार जित हात पारेको हो ।
घरेलु मैदानमा बार्यनलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गरे । यस्तै लियोन गोरेट्जकाले एक गोल गरे । डर्टमण्डका एर्न हालान्डले दुई गोल गरे । खेलको दोस्रो मिनेटमै एर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई १–० को अग्रता दिलाएका थिए ।
नवौं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दा सुरुमै डर्टमण्डले २–० को अग्रता बनायो । तर त्यसपछि भने बार्यन खेलमा फर्कियो । लेवान्डवस्कीले २६औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाए । ४४औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दा बार्यनले पहिलो हाफमै खेल २–२ को बराबरीमा ।
दोस्रो हाफमा बार्यनले दुई गोल थप्यो । ८८ औं मिनेटमा गोरेट्जकाले गोल गर्दै बार्यनलाई ३–२ को अग्रता दिलाए । ९०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने बार्यनलाई ४–२ को जित दिलाए । जितपछि बार्यन २४ खेलबाट ५५ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ ।
समान खेलबाट ५३ अंकसहित आरबी लाइपजिग दोस्रो स्थानमा छ । त्यसअघि फ्रेइवर्गलाई ३–० ले पराजित गर्दै लाइपजिग शीर्ष स्थानमा उक्लेको थियो । तर बार्यन पुनरागमन जितसहित शीर्ष स्थानमा फरेको हो ।
२४ खेलबाट ३९ अंङ्क रहेको डर्टमण्ड छैटौं स्थानमा झरेको छ । बोरुसिया मोन्चेनग्लाडबाकलाई १–० ले पराजित गर्दै ४० अंक जोडेको बार्यन लेभरकुजन पाँचौ स्थानमा उक्लेको छ । ।

