
विभागीय टोली एपीएफ क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो ।
अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १७८ रनको लक्ष्य एपीएफले ४४.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतक प्रहार गरे । शरदले अविजित ६१ रन बनाए । सन्दिप ६२ रनमा अविजित रहे । यस्तै शंकर रानाले ३१ र भुवन कार्कीले ११ रन बनाए । काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १\१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८.५ ओभरमा अलआउट हुँदै १७८ रन बनाएको थियो । काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए । यस्तै हरिशंकर साहले ३६ र बिक्रम भुसालले २० रन जोडे ।
एपीएफका कमल सिंह ऐरी र अभपनास बोहराले ३÷३ विकेट लिए । लिग चरणमा एपीएफले तेस्रो जित हात पार्दै ४ खेलबाट ६ अंक जोड्यो । पुलिसले पनि ४ मध्ये ३ खेलमा जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो । पुलिस नेट रन रेटको आधारमा अघि छ ।एपीएफ फाइनल पुगेपछि आर्मी, बागमती र काठमाडौं लिगबाटै बाहिरिएको छ ।


