
सिरहा । रमपम चौथो गोलबजार मेयर गोल्डकपको उपाधि एपीएफले हात पारेको छ । गोलबजार नगरपालिका र गोलबजार प्रतिभा कल्वको आयोजनामा सम्पन्न चौथो मेयर गोल्ड कपको आज आयोजक र एपीएफ बीच भएको फाइनल खेलमा १ को विरुद्ध ४ गोल गर्दै एपीएफ विजयी भएको हो ।
विजेता एपीएफले प्रथम पुरस्कार ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित ट्रफी हात पारेको छ । दोस्रो हुने आयोजक टिमले २ लाख २ हजार २ सय रुपैयाँ र ट्रफी पाएको छ । फाइनल खेलको सवै ४ गोल जर्सी नम्वर १८ का खेलाडी रवि तामाङले गरेका थिए ।
नले खेलको प्रथम हाफको १३, ३७ र ४७ मिनटमा एक एक गोल र दोस्रो हाफको अन्तिम समयमा थप एक गोल गरेका थिए । आयोजकका तर्फबाट ११ का खेलाडी जय गुरुङले १ गोल गरेका थिए । खेल अवधिका सर्वाधिक गोलकर्ताको उपाधि पनि एपीएफ जर्सी नम्वर १८ का खेलाडी रवि तामाङले पाएका छन् ।
उनले ट्रफी सहित ३१ हजार नगद उपहार पाएका छन् । उनले आज मात्रै चार गोल र एस अघि २ गोल सहित ६ गोल गरेका थिए । खेलको उत्कृष्ट खेलाडी एपिएफकै प्रदिप लामा, उत्कृष्ट गोलकिपर आयोजकका सागर श्रेष्ठ, उत्कृष्ट डिफेन्स सनम लामा, उत्कृष्ट मिडफिल्डर मितिङ थापा भएका छन् ।
उनीहरु सवैलाई ट्रफी सहित ३१ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उदयमान खेलाडीको रुपमा आयोजककै निश्चल मोक्तान सम्मानित भएका छन् । उनलाई ३१ हजार नगद सहित ट्रफी प्राप्त गरेका छन् । फागुन २१ बट सुरु भई २८ गते एक हप्तासम्म चलेको खेलमा ८ वटा टिम सहभागी रहेको थियो ।


