४१७ दिनपछि अगुएरोको पहिलो गोल, सिटीलाई १७ अंकको अग्रता - Crazysaptahik.com

४१७ दिनपछि अगुएरोको पहिलो गोल, सिटीलाई १७ अंकको अग्रता

सर्जियो अगुएरोले सन् २०२० को जनवरीपछि पहिलो गोल गर्दा म्यान्चेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाएको छ ।

शनिबार भएको खेलमा फुलहमविरुद्ध ३–० को जीत निकाल्दै पेप ग्वार्डिओलाको टोलीले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाउन सफल भएको हो । खेलको ४७ औँ मिनेटमा जोन स्टोनले गोल गर्दै सिटीलाई अग्रता दिलाए भने ग्याब्रियल जिसुसले अग्रता दोब्बर बनाए ।

खेलको ६० औँ मिनेटमा पेनाल्टीबाट अगुएरोले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । अगुएरोले पछिल्लो पटक ४१७ दिनअघि सेफिल्ड युनाइटेडविरुद्ध गोल गरेका थिए । ३० खेलपछि सिटीको ७१ अंक रहेको छ ।

दोस्रो स्थानमा रहेको युनाइटेडले दुई खेल कम खेलेको छ । उसको ५४ अंक रहेको छ । शनिबार नै भएका अन्य खेलमा चेल्सी लिड्ससँग गोलरहित बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक थोमस टुकलको नेतृत्वमा चेल्सी सबै प्रतियोगितामा खेलिएका १२ खेलमा अपराजित रहेको छ ।

उता, एर्भटन बर्नलीसँग १–२ गोलले स्तब्ध बन्यो भने क्रिस्टल प्यालेसले वेस्टब्रोमिच आल्बियोनलाई १–० गोलले हरायो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.