
क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–१० अवस्थित शनिश्चरे शरणार्थी शिविरमा आज आँप धारा उद्घाटन भएको छ । शिविरको सेक्टर ए वानमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आँप धारा उद्घाटन भएको हो ।
धारालाई क्याम्प सचिव चम्पासिंङ राई र एलडब्लुएफका प्रोजेक्ट अफिसर लिलबहादुर कार्कीको हस्त बाहुलीबाट औपचारिक उद्घाटन भएको थियो । धाराबाट २ सय घर परिवार लाभान्वित हुनेछन् । सो धारा संरक्षणका लागि रेन्जु राईले १ लाख ७५ हजार १ सय रुपैयाँ सहयोग गरेका थिए । यस्तैगरी भिम खपाङ्गी, धनबहादुर राई, इन्द्र मैनाली, गणेश काफ्ले, आइतराज राईले पनि सहयोग गरेको समितिका अध्यक्ष नरेन राई जानकारी दिए ।

सो उद्घाटन कार्यक्रममा बोल्दै क्याम्प सचिव राईले भने–‘राजनीतिक द्वन्द्वका कारण हामी विभिन्न मुलुकबाट यहाँ आउँदा यही कुवाले हाम्रो ज्यान बचाएको थियो । अहिले युवाहरुको संरक्षणका कारण यो धारामा परिणत भएको छ ।’ विगतलाई सम्झदै राईले थपे–‘यहाँ कुवा हुँदा छेउमा आँपको रुख थियो त्यसैले यसलाई हामी आँप धारा भन्ने गथ्र्याैं ।’
यस्तैगरी एलडब्लुएफका प्रोजेक्ट अफिसर लिलबहादुर कार्कीले भने–‘पानी जीवन हो । जहाँ पानी हुन्छ त्यहाँ जीवन रहन्छ पानी नभएको स्थानमा जीवननै रहन्न ।’ कार्यक्रम आँप धारा समितिका संयोजक अरुण गुरुङको अध्यक्षतामा भएको थियो ।

