
प्रहरीले काठमाडौंको कोटेश्वर र गौरीघाटस्थित गुट्खा गोदाममा छापा मारेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गोदाममा छापा मारेर भन्सार छलीको गुट्खा बरामद गरेको छ ।
करिब ८ लाख मूल्य बराबरको सुर्तिजन्य पान–पराग, राजनिवास, तुलसी, रजनिगन्धा र गुट्खा नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
भन्सार छलेर सो सामग्री काठमाडौं ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएका मदन शाह रौनियार र श्रवण कुमार सिंह छन् ।कोटेश्वरमा रहेको रौनियारको गोदाम र गौरीघाटस्थित सिंहको गोदामबाट दाँत सफा गर्न प्रयोग गरिने गुल, भारतीय कम्पनीको चुरोट र रेडबुल पनि प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज लगायतका नाका छलेर सो सामान काठमाडौं ल्याएको उनीहरुले प्रहरीलाई बताएका छन् । सामानसहित उनीहरुलाई कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने एसएसपी खापुङले बताए ।

