क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारेमा आज स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन नगरमा रहेका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएको उल्लेख गर्दै उहाँहरुसँग समाचार तथा सूचना मार्फत् अभियानको प्रचार प्रसारको अपेक्षा व्यक्त गर्नुभयो । चैत २० देखि २६ गतेसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाले घर घरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको प्रष्ट्याउदै उहाँले नगरवासीलाई औषधि सेवनको आव्हान पनि गर्नुभयो ।
पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य शाखाका जगत मगरले हात्तीपाइले रोग, त्यस विरुद्ध औषधि सेवन लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो । चैत १९ गते नगरमा औषधि खाएर अभियानको उद्घाटन् गरी २० गतेबाट घर घरमा पुगेर औषधि सेवन गरिनेछ । गर्भवती, ७ दिनसम्मको सुत्केरी, जटिल रोगी र ओछ्यान परेका विरामी, २ वर्ष मुनिका बालबालिकाले बाहेक अन्य सवैले औषधि सेवन गर्न हुने जानकारी गराइएको छ ।
नगरले गत वर्ष ५७ हजार ६ सय ३६ जनालाई औषधि सेवन गराएर लक्ष्यको ९१ प्रतिशत सफलता हासिल गरेको थियो । औषधि सेवन गर्न नहुने समूह छुट्याएर यस वर्ष ६१ हजार ७ सय ३६ जनालाई औषधि सेवनको लक्ष्य बनाइएको छ । सेवन गर्न नहुनेमा २ वर्ष मुनिका २ हजार ७ सय १३, गर्भवती १ हजार ७ सय ५७, सुत्केरी १ हजार ४ सय ९० र जटिल तथा सिकिस्त विरामी २ हजार १ सय ६९ जना रहेका छन् ।