
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले १३७ रनमा रोकेको छ । यो योगफलमा पुग्न मुम्बईले आफ्ना ९ विकेट गुमाएको थियो ।
चेन्नईको मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको मुम्बई इन्डियन्सले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । दिल्ली क्यापिटल्सका बलरहरुले मुम्बईका ब्याट्सम्यानलाई क्रिजमा जम्न दिएनन् ।
परिणामस्वरुप मुम्बईले औसत योगफलमै चित्त बुझाउनु । मुम्बईका लागि क्याप्टेन रोहित शर्माले सर्वाधिक ४४ रन बनाए ।
त्यस अतिरिक्त इशान किशनले २६, सुर्यकुमार यादवले २४, जयन्त यादवले २३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा योगदान गर्न सकेनन् ।
मुम्बईलाई सस्तोमै समेट्नका लागि दिल्ली क्यापिटल्सका बलर अमित मिश्राले चार ओभरमा २४ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट लिए ।
यस्तै अवेश खानले दुई तथा मर्कोस स्टोइनिस, कसिगो रबाडा र ललित यादवले एक÷एक विकेट लिए । अंक तालिकामा दिल्ली क्यापिटल्स तेस्रो र मुम्बई इन्डियन्स चौथो नम्बरमा छ । वैले तीन खेलमा दुई जित र एक पराजय ब्यहोरेका छन् ।


