आईपीएल : कोलकातामाथि दिल्लीको सहज जित - Crazysaptahik.com

आईपीएल : कोलकातामाथि दिल्लीको सहज जित

पृथ्वी शको उत्कृष्ट ब्याटिङ मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ ।

यस जितपछि दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । अहमेदाबादमा बिहीबार राति भएको खेलमा कोलकताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा ओपनर पृथ्वी शले ८२ रन बनाए । उनले ४१ बल खेल्दै ११ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर शिखर धवनले ४६ रन बनाए ।

कप्तान ऋषव पन्त १६ रन बनाएर आउट भए । कोलकाताका लागि ३ विकेट नै प्याट कमिङ्सले लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

कोलककता लागि आन्द्रे रसेलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाए । उनले २७ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । यस्तै सुबमन गिलले ४३ रन जोडे भने राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए ।

प्याट कमिङ्स ११ रनमा अविजित रहे । दिल्लीका अक्सर पटेल र ललित यादवले २–२ विकेट लिए । यस सिजन पाँचौ जित हात पारेको दिल्ली ७ खेलबाट १० अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

शीर्ष स्थानको चेन्नाईसमान अंक भए पनि रनरेटमा दिल्ली पछि छ । उता रोयल च्यालेन्जर्स बैंगलोरलाई भने दिल्लीले समान अंक भएपनि रनरेटमा पछि पारेको छ ।

कोलकताको भने यो पाँचौ हार हो । ७ खेलबाट ४ अंक मात्र रहेको कोलकता पाँचौ स्थानमै यथावत छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.