
ब्रुनो फर्नान्डेज र एडिन्सन कभानीले दुई–दुई गोल गर्दा म्यान्चेस्टर युनाइटेडले गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमामाथि गोल वर्षा गरेको छ ।
रोमाविरुद्ध ६–२ को जीत हासिल गर्दै युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । खेलको नवौँ मिनेटमा फर्नान्डेजले युनाइटेडलाई अग्रता दिलाए पनि लोरेन्जो पेलेग्रिनीले पेनाल्टीबाट बराबरी गोल फर्काए ।
त्यसपछि एडिन जेकोले रोमालाई अग्रता दिलाए । दोस्रो हाफमा भने युनाइटेडले गोलको वर्षा गर्यो । शुरुवातमा नै कभानीले बराबरी गोल फर्काए भने उनले दोस्रो गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।
त्यसपछि फर्नान्डेजले युनाइटेडको अग्रता फराकिलो बनाए । ७५ औँ मिनेटमा पाउल पोग्बाले युनाइटेडको पाँचौ गोल गरे । अन्त्यमा मेसन ग्रिनवुडले आधा दर्जन गोल पूरा गरे ।

यसअघि १५ महिनामा ४ वटा सेमिफाइनल हारेको युनाइटेडले बिहीबार भने उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको थियो । उता, अर्को इङ्ग्लिस क्लब आर्सनल भने भिल्लेरियालसँग १–२ गोल अन्तरले पराजित भएको छ ।
दुवै टोली १० खेलाडीमा सिमित भएको खेलमा भिल्लेरियालले मानु ट्रिगुएरोसको गोलले अग्रता दिलाएको थियो । राउल आल्बियोलले भिल्लेरियालको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा निकोलास पेपेले पेनाल्टीबाट महत्त्वपूर्ण अवे गोल गर्दै दोस्रो लेगमा आर्सनललाई जीत आशा दिलाएका छन् ।


