
क्रेजी संवाददाता
पथरी । मोरङको लेटाङ –९ जाँतेमा तरकारी खेती गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न कृषि औजारहरु वितरण गरिएको छ ।
प्रधानमन्त्री आधुनिकीकरण परियोजना कृषि ज्ञान केन्द्र मोरङ तथा तरकारी ब्लक संचालक समितिले कृषकलाई ७ थान मिनि टिलर, २० थान ठेला, ४० थान टनेल र ३० थान स्पे्र प्रदान गरेको हो । सो सामाग्रीहरु वितरण गरेको हो । ३ वर्षसम्म तरकारी पकेट कार्यक्रम संचालन भएको सो क्षेत्रमा २ वर्ष तरकारी ब्लक कार्यक्रम सफलतापूर्वक संचालन भएको छ । अब तरकारी जोनको कार्यक्रम संचालनको तयारी गरीरहेको सो समितिले सोमबार एक कार्यक्रमको आयोजना गरी मिनि टिलर, अरवाना (ठेला), डिजिटल काँटा, टनेल, स्पे्र मेसिन लगायतका सामाग्री वितरण गरेको हो ।
सो समितिले प्रदान गरेको मिनी टिलरको बजार मूल्य १ लाख १० हजार रुपैँया रहेको छ । समितिले प्रदान गरेको अरवानाको मूल्य ५ हजार रुपैया, टनेल ४ हजार रुपैँया र स्पे्रको मूल्य २ हजार ५ सय देखी ५ हजार ५ सय सम्म रहेको समितिको सचिव भूमिका मगरले जानकारी दिनुभयो ।
तरकारी ब्लक संचालक समितिले आयोजना गरेको सो कार्यक्रममा प्रदेश १ का प्रदेश सांसद उपेन्द्र प्रसाद घिमिरे, कृषि ज्ञान केन्द्र मोरङ, सुनसरीका प्रमुख नुनुलाल उराव, मोरङ जिल्ला समन्वय समितीका अध्यक्ष नरेश पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद घिमिरेले कृषकहरुको सकृयताले तरकारी पकेट कार्यक्रम र तरकारी जोन कार्यक्रम सफल भएको बताउदै सोहि सक्रियता कायम राखी तरकारी जोनको रुपमा जाँतेलाई विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र मोरङ, सुनसरीका प्रमुख उरावले महिलाहरुको सहभागीतामा विना कुनै विवाद सम्पूर्ण योजनाहरु सफल भएको बताउदै समितिको सक्रियताको मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।
कार्यक्रममा समितीको प्रगती विवरण प्रस्तुत गर्दै समितिको सचिव भूमिकादेवी मगरले समितिलाई तरकारी ढुवानीका लागी साधन र तरकारी संकलनका लागी भवनको आवश्यकता भएकाले सो को व्यवस्थापन गरिदिन कृषि ज्ञान केन्द्रलाई अनुरोध गर्नुभयो ।
तरकारी ब्लक संचालक समितिको अध्यक्ष मथुरा अधिकारीले संकलन केन्द्रको अभावमा विचौलिया मार्फत तरकारी बेच्न बाध्य भएको बताउदै कृषकले उचित मूल्य पाउन नसकेको चर्चा गनुभयो । अध्यक्ष अधिकारीले उन्नत जातको विउ, विजन, बाली विमा कार्यक्रम, जैविक मलको व्यवस्थापन गर्न सके तरकारी खेतीले कृषकलाई व्यवसायीक हुन अझ मद्धत पुग्ने बताउदै सोको व्यवस्थापनका लागी अनुरोध समेत गर्नुभयो ।

