
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा हिंसा पीडित बनेकी एक महिला र उनकी छोरीलाई सोमबार उदार गरी उनीहरुको संरक्षण तथा उपचारका लागि माइती नेपाल विराटनगरमा पठाइएको छ ।
श्रीमानको लगातारको पिटाइबाट ४ वर्षे छोरी र आफु विक्षिप्त सरह भइ वेसहारा बनेको अवस्थामा स्थानीय पत्रकार अर्जुन काफ्लेले फेला पारी उद्धार गरेर नगरपालिका कार्यालयमा पुर्याएका थिए । नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा घाइते अवस्थाका तत्काल प्राथमिक उपचार गरी उनीहरुको संरक्षण तथा उपचारका लागि नगरको एम्बुलेन्समा माइती नेपाल संस्था विराटनगरमा पठाइएको हो ।
पथरी शनिश्चरे २ लिच्चीडाँडामा बसोबास गर्ने २२ वर्षीया महिलामाथि श्रीमानले मादक पदार्थ सेवन गरी लगातार कुटपिट गरेका कारण मानसिक रुपले समेत त्रसित बनेको देखिएकाले उनका श्रीमानको खोजी गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइने नगर उपप्रमुख वास्तोलाले जनाउनुभयो ।

