
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे ४ नम्बर वडाले साविक शनिश्चरे गाविसका पूर्ब जनप्रतिनिधि र वर्तमान वडामा रहेका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
शुक्रबार वडा कार्यालयमै एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्व जनप्रतिनिधिलाई सम्मान, कर्मचारीलाई पुरस्कृत गरेको हो । पथरीशनिश्चरे नगरपालिका साबिक पथरी, शनिश्चरे र हसन्दह गाविस मिलाएर पथरीशनिश्चरे नगरपालिका निर्माण भएको हो । साविक शनिश्चरे गाविस नगरपालिका भएपछि ४, ८, ९ र १० गरी चार वटा वडामा विभाजन भएको छ । ४ नम्बर वडाले साविक शनिश्चरे गाविसका पूर्व प्रधानपञ्च जहरमान लिम्बु, जितबहादुर गिरी, पूर्व गाबिस अध्यक्ष मोहन न्यौपानेलाई सम्मन पत्र र खादा ओढाएर सम्मान गरेको हो ।
यसैगरी तत्कालीन वडा अध्यक्षहरु गजेन्द्र बस्नेत, पोषण पोखरेल, मानबहादुर बिक, घमण्ड ठकुरी, हर्कबहादुर लिम्बुलाई वडाले सम्मान गरेको हो । तत्कालीन शनिश्चरे गाविस र वर्तमान वडाहरुको विकास गर्न पूर्व जनप्रतिनिधिहरुको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको वर्तमान वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीले जानकारी गराए ।
वडा सचिव तारानिधि सापकोटा, प्राविधिक देवकृष्ण यादव, कर्मचारी मिना योञ्जन, शर्मिला धिमाल, गीता चापागाईलाई कदर–पत्र र उत्कृष्ट कर्मचारीको रुपमा खिना ठकुरीलाई सम्मान गरेको हो । यस्तै विद्यालयहरुमा बाल बालिकाहरुलाई अध्यापन गराउँदै आएकी शिक्षिकाहरुलाई समेत नगद सहित कदर गरेको छ । यस्तै पुरस्कृत हुने सहयोगी कार्यकर्ताहरुमा भागिरथ माविका सुनिता कार्की, ममता सुब्बा, नर्बदादेखि निरौला, सरस्वती आधारभूत विद्यालयका योगमाया ढुंगाना, हिमादेवी निरौला, मिनाकुमारी राई, सिद्धार्थ आविका सुनिता मादेन र जनकल्याण आधारभूत विद्यालयको कुसकुमारी लामिछाने र भक्ती रेग्मीलाई पुरस्कृत गरिएको थियो ।
वडा नम्बर ४ का वडा अध्यक्षको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद साप्कोटा, नगर कार्यपालिका सदस्य भद्रमान बिक लगायतको हातबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद सापकोटाले अग्रज जनप्रतिनिधिहरुको सम्मान र कर्मचारीहरुलाई पुरस्कृत गर्ने वडाको कार्यको प्रशांसा गरेका थिए ।
वडा नम्बर ८ का अध्यक्ष बाबुराम दाहाल, ९ का भानुभक्त राई, स्थानीय प्रहरी प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रम मार्फत् ४ नम्बर वडा भवन संयुक्त रुपमा उद्घाटन भएको थियो । साविक शनिश्चरे गाबिसको अधुरो भवनलाई नगर र वडाबाट झण्डै २० लाखको लागतमा मर्मत गरेर उद्घाटन गरिएको वडा अध्यक्ष गोविन्द भण्डारीले जानकारी दिए ।

