मिक्लाजुङ कांग्रेसमा अरुणको बलियो दाबेदारी - Crazysaptahik.com

मिक्लाजुङ कांग्रेसमा अरुणको बलियो दाबेदारी

मिलन के.राउत
उर्लाबारी । फिस्स हाँस्ने र मिठो बोल्ने स्वभाव । सानादेखि ठूलासम्म गर्ने समान व्यवहार । नाता जोडेर बोल्ने सरल बानी । यही बानी र मिजासले नेपाली कांग्रेसको स्थानीय राजनीतिमा उनी जमेका छन् । ४१ वर्षीय अरुणविक्रम बस्नेत सामाजिक कार्यमा पनि उतिक्कै सक्रिय छन् ।

कांग्रेस भातृ संगठन तरुण दल मार्फत राजनीतिमा जोडिएका उनलाई मोरङको मिक्लाजुङमा कांग्रेसको भावी सभापतिको रुपमा हेरिएको छ । तरुण दल मिक्लाजुङका सचिव देउमान तामाङ भन्छन्– भन्छन्, ‘विकासवादी चिन्तन देखेकाले उहाँलाई आगामी अधिवेशनमार्फत गाउँ सभापतिका रुपमा अघि सारेका छौ ।’ उसैपनि एमालेको बर्चश्व रहेको सिंगो मिक्लाजुङमा सफल नेतृत्व आए मात्र कम्युनिस्टको गढ भत्काउन सकिने कांग्रेस कार्यकर्ताहरुले विश्वास लिएका छन् ।

आशाको केन्द्रका रूपमा क्रियाशिल सदस्यहरुले लिएका अरुणपनि पार्टीलाई चलायमान बनाउनका साथै समुन्नत मिक्लाजुङ बनाउने अभिलाषा बोकेर कांग्रेसको गाउँ सभापति पदमा दाबेदारी प्रस्तुत गरेको बताउछन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकै गर्दा पुर्वोत्तर मोरङको मिक्लाजुङका नेता–कार्यकर्ताहरूलाई पनि अधिवेशनले छोएको छ ।

विगतदेखि नै नेता कार्यकर्तालाई सम्मान र सहयोग गर्ने व्यक्तिका रुपमा बस्नेतले पहिचान बनाएको चर्चा कांग्रेसभित्र छ ।
उनलाई मिक्लाजुङमा कांग्रेसको सभापति बनाएर नेतृत्व गर्न दिनुपर्ने कार्यकर्ताहरूको माग पनि छ । के पाका, के युवा सबैका बीच उनी लोकप्रिय छन् । पदमै नभएपनि गाउँमा हुने प्रशासनिक कामलगायतमा कार्यकर्तालाई सघाउँदै आएका अरुणले यस पटक गाउँ सभापतिको उम्मेदवार बनेरै छाड्ने प्रतिबद्धता दोहोर्याए ।

सक्रियता र क्षमताले सभापति हुन योग्य भएपनि उनको उम्मेद्वारीलाई रोक्न कतिपयले भूमिका खेलिरहेकोमा उनी अनभिज्ञ भने छैनन् । आफु सभापतिको उमेद्वार हुँदै गर्दा अरुणको धारणा जस्ताको त्यस्तैः कांग्रेससँग नेपाली जनता होलान् । तर, जनतासँगको सामिप्यता र सम्पर्क हाम्रो घटेको छ । राजनीतिले समाजको विकास र समाजलाई छोडेको अनुभूति जनताले गरिरहेका छन् । नेताको नेतृत्व अलग छ । नीति तथा कार्यक्रमहरू कार्यान्वयन हुन सकिरहेका छैनन् । राजनीति समाजसेवा होइन भन्ने प्रवृत्तिले जसरी जरो गाडेको छ, त्यसलाई हटाएर समाजसेवा नै राजनीति हो भन्ने विश्वास दिलाउनुपर्छ । अहिले राजनीतिभित्र नैतिक आचरणको कमी छ । राजनीति संस्कार निर्माण हुन सकेको छैन । राजनीतिमा कु–कर्म गर्ने व्यक्ति पनि छ । इमान्दार व्यक्ति पनि राजनीतिमा छन् । कु–कर्म गर्ने व्यक्ति राजनीतिमा रह्यो भने इमान्दार राजनीति गर्ने व्यक्तिलाई चित्त दुःख छ । राजनीति गर्नका लागि केही मापदण्ड हुन्छन् । राजनीति गरेर समाज र देशलाई समग्र परिवर्तन गर्छु भन्ने सोँच हुने व्यक्ति सशक्त हुनुपर्छ भन्ने कुरा आवश्यक छ । एउटा मानिस सधैँका लागि भइराख्ने, अरुले कहिल्यै अवसर पाउँदै नपाउने भन्ने कुरा र जमिन्दारी प्रथा हट्नुपर्छ ।

नेपाली कांग्रेसले सबैका लागि समान अवसरको बाँडफाँड गर्छ भन्ने कुरा देखाउनुपर्छ ।अहिलेसम्म नेपाली कांग्रेसको गाउँ कार्यसमितिको लागि काम गर्न योग्य छु र काम गर्न सक्छु भन्ने लागेको छ । मैले साविकका रमिते, टाँडी, मधुमल्ला र जाँतेका केहि भाग, जुन मिक्लाजुङमा समेटिएका छन् । सबैतिर घुमेर साथीहरूसँग सरसल्लाह गरेको छु । उहाँहरूकै सरसल्लाअनुसार नै मेरो उम्मेदवारी हो । साथीहरूले सभापतिमा रहेर कांग्रेसको सेवा गर्नुपर्छ भन्नुभएको छ । अबको निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्छ भन्ने विश्वासको साथ म लागेको छु ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.