आफ्नै पसलभित्र महिला मृत फेला - Crazysaptahik.com

आफ्नै पसलभित्र महिला मृत फेला

क्रेजी संवाददाता
विराटनगर । विराटनगर महानगरपालिका–९ मा चिया पसल सञ्चालन गर्दै आएकी एक महिलालाई बिहिबार अपरान्ह मृत फेला पारिएको छ ।

प्रहरीका अनुसार विराटनगर–१० की ४० वर्षीया सीता राजवंशी आफ्नै पसलभित्र अपरान्ह १२ बजेतिर मृत भेटिएकी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनास्थल विराटनगर बसपार्कनजिकै रहेको जानकारी दिए । पसलभित्र भुइँमा घोप्टो परेको अवस्थामा महिलालाई मृत भेटिएको श्रेष्ठले बताए ।

उनका अनुसार शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको छ । पसलको भित्रबाटै ढोकोको चुक्कुल लगाएको र भुइँमा घोप्टो परेर लडिरहेको अवस्थामा शव भेटिएको उनले बताए ।

महिला मृत भेटिएको पसलभित्रको बाँसको बलोमा सल पनि झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्युको कारण यकिन भइसकेको छैन । सलको पासो लगाएर आत्महत्या गरेको र झुण्डिएपछि सलबाट खुस्किएर शव भुइँमा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धानलाई जारी राखेर वास्तविकता पत्ता लगाउँदै मृत्युको कारण खुलाउने प्रयास भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर