नेपाल घोडचढी संघलाई एसियन इक्वेस्ट्रियन फेडरेसनको सदस्यता - Crazysaptahik.com

नेपाल घोडचढी संघलाई एसियन इक्वेस्ट्रियन फेडरेसनको सदस्यता

नेपाल इक्वेस्ट्रियन एशोसिएसन (नेपाल घोडचढी संघ)ले एसियन इक्वेस्ट्रियन फेडरेसन (एईएफ)को अस्थायी सदस्यता प्राप्त गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै फेडरेसनको अस्थायी सदस्यता प्राप्त गरेको जनाएको हो ।

एसियाका २८ क्रियाशील देश सम्मिलित एसियन इक्वेस्टेरियन फेडरेसनको बिहीबार बसेको भर्चुअल साधारणसभाले नेपाललाई अस्थायी सदस्यता दिने निर्णय गरेको संघले जनाएको छ ।

उक्त साधारणसभाको एजेन्डा १५.१ अनुसार नेपाललाई सदस्यता दिने निर्णय भएको हो । नेपालसहित अर्को दक्षिण एसियाली मुलुक श्रीलंकाले पनि सदस्यता प्राप्त गरेको छ । गत नोभेम्बरमा अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन फेडरेसन (एफआईआई)को महासभाले पनि नेपाललाई अस्थायी सदस्यको रुपमा अनुमोदन गर्दै मान्यता दिएको थियो ।

एसियन र अन्तर्राष्ट्रिय फेडरेसनका प्रतिनिधिले नेपाल भ्रमणपछि पूर्ण सदस्यको रूपमा मान्यता दिने संघले जनाएको छ । कोभिड–१९ को महामारी अन्त्यपछि अन्तर्राष्ट्रिय र एसियन फेडरेशनका प्रतिनिधि नेपाल भ्रमणमा आउने समेत संघको भनाइ छ । यस्तै संघलाई अन्तर्राष्ट्रिय ‘टेन्ट पेगिंग’ महासंघ (आईटीपीएफ)को पूर्ण सदस्यको रुपमा अनुमोदन र स्वीकृत गरिएको पनि संघले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.