
भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी उद्योग बाणिज्य संघको सोमबार भएको बैठकले आसन्न भदौ मसान्तसम्ममा आफ्नो नियमित चुनावी साधारणसभाको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने गरी विषयगत तयारीलाई अघि बढाएको छ ।
संघका अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा संघको कार्यालय कक्षमा बसेको सो बैठकले संघसम्बद्ध सयौं व्यापारी व्यावसायीमाझ सदस्यता अभियान सञ्चालन गर्ने, सदस्यता विस्तार एवं वृद्धि गर्ने र सदस्यता नवीकरणसम्वन्धी सम्पूर्ण विषयलाई अद्यावधिक गर्ने गराउने निर्णय गरेको छ ।

बैठकमा सहभागी सदस्य एवं पदाधिकारीहरूको प्रस्ताव एवं रायसल्लाहमा स्थानीय अधिकांश उद्योगी व्यापारी–व्यवसायी वर्गलाई कोभिड – १९ को महामारी र लकडाउन कार्यान्वयनका कारण पर्न गएको प्रत्यक्ष÷परोक्ष असरसम्बन्धी विविध विषयलाई गम्भीरतापूर्वक लिएको छ । महामारी, बाढीपहिरोलगायत प्रकृतिजन्य परिस्थितिले सिर्जना गरेको गम्भीरतालाई ध्यानमा राख्दै नयाँ सदस्य दर्ता तथा नवीकरणमा सहुलयितस्वरुप विशेष छुटको प्रावधान मिलाइएको व्यहोरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । महासचिव अशोककुमार राईंका अनुसार भदौको पहिलो हप्ताभित्र सदस्यता अभियान सञ्चालन गर्ने, सदस्यता विस्तार एवं वृद्धि गर्ने र सदस्यता नवीकरणको काम सक्ने निर्णय आजैका मितिबाट आकर्षित भएको छ ।

