
ब्राजिलियन फुटबलर मार्टाले ओलम्पिक फुटबलमा नयाँ कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबल अन्तर्गत चीनविरुद्ध गोल गर्दै उनले कीर्तिमान बनाइन् ।
मार्टा लगातार पाँच ओलम्पिकमा गोल गर्ने महिला र पुरुषमै पहिलो खेलाडी बनेकी हुन् । समूह एफ अन्तर्गत चीन विरुद्धको खेलमा ब्राजिल ५–० ले विजयी हुँदा मार्टाले दुई गोल गरिन् ।
योसँगै उनले ओलम्पिकमा गरेको गोल संख्या १२ पुगेको छ । मार्टाले सन् २००४ देखि २०२० को ओलम्पिकसम्म गोल गरेकी हुन् ।ओलम्पिकमा सर्वाधिक गोल गर्नेमा उनी आफ्नै देशकी क्रिस्टियनभन्दा दुई गोलले पछि छिन् । क्रिस्टियनले २००४ देखि २००६ सम्म खेल्दा १४ गोल गरेकी छन् ।
३५ वर्षीया मार्टाले सन् २००२ मा ब्राजिलका लागि डेब्यु गरेकी थिइन् । चीन विरुद्धको खेलपछि उनले ब्राजिलका लागि १६०औं खेल खेल्दै १११ गोल गरिसकेकी छन् । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् ।
यस्तै ब्राजिलियन मिडफिल्डर फोर्मिगा सबैभन्दा पाको उमेरमा ओलम्पिक खेल्ने खेलाडी बनेकी छिन् । उनले सन् १९९६ देखि लगातार ओलम्पिक खेल्दै आएकी छन् । फोर्मिगाले लगातार सातौं पटक ओलम्पिक खेलिरहेकी छन् ।


