
क्रेजी संवाददाता
पथरी । साउन ८
मोरङको पथरी शनिश्चरेमा अवस्थित ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ ले भूमिको लगत प्रविष्टिकरण गर्दै नापी प्रक्रिया पनि अघि बढाउने भएको छ ।
विहिबार बसेको नगर कार्यपालिकाको बैठकले साउन र भदौमा लगतको बाँकी प्रविष्टिकरण कार्य सम्पन्न गरिसक्ने र प्रविष्टिकरण भएका वडाको तत्कालै नापी कार्य समेत अघि बढाउने निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।
नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले भरिएका फारमको कम्प्यूटरमा लगत प्रविष्टिकरण सकिएका वडाको ७ दिने सूचना प्रकाशित गरेर नापी कार्य थाल्ने निर्णय भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
बैठकमा, आयोगको नगर कार्यालयस्थित इकाई प्रमुख ताराप्रसाद ढकालले हालसम्म आयोगको कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको ३ हजार ५ सय ६८ र अव्यवस्थित बसोबासीको ६ हजार २ सय २५ घर परिवारको गरी कुल ९ हजार ७ सय ९३ वटा फारममा लगत संकलन भएको बैठकलाई जानकारी गराउनु भयो । त्यसमध्ये वडा नम्बर १, २ र ३ को लगत प्रविष्टिकरण सम्पन्न भएको र ४ नम्बरको आधाउधी प्रविष्टिकरण हुँदा हालसम्म ५ हजार संख्याको फारम कम्प्युटरमा प्रविष्टिकरण भएको जनाउनु भयो ।

गत असार २१ गते आयोगको जिल्लाले राखेको बैठकको निर्देशन अनुसार इकाईले निर्माण गरेको असारदेखि भदौसम्मको ४ महिने योजना समेत उहाँले प्रस्तुत गर्नुभएको थियो । पथरी शनिश्चरेमा नापीका लागि उपकरणको समेत नगरपालिकाले व्यवस्थापन गरेको छ ।
बैठकले, नगरको सहकारी संस्था एकीकरण कार्यविधि र वालि विज्ञान विषय अध्यापन सुरु गरेको भागिरथ माविको शैक्षिक ऋणका रुपमा घुम्ती कोष सञ्चालन निर्देशिका पारित गरेको छ । कक्षा ११ र १२ मा सञ्चालन भएको वालि विज्ञान विषय अध्ययन गर्न चाहने नगरका विद्यार्थीका लागि नगरपालिकाले ५० प्रतिशत शैक्षिक ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

