ओलम्पिक फुटबल : ब्राजिलले जर्मनीलाई हरायो, अर्जेन्टिना अष्ट्रेलियासंग पराजित - Crazysaptahik.com

ओलम्पिक फुटबल : ब्राजिलले जर्मनीलाई हरायो, अर्जेन्टिना अष्ट्रेलियासंग पराजित

टोकियो ओलम्पिक अन्तर्गत बिहीबार भएको पुरुष फुटबलमा साविक विजेता ब्राजिलले विजयी सुरुवात गरेको छ । पाँच वर्षअघि घरेलु मैदानमा स्वर्ण जितेको ब्राजिलले त्यसबेला रजत जितेको जर्मनीलाई ४–२ ले पराजित गरेको हो ।

डी अन्तर्गत निसान स्टेडियममा भएको खेलमा ब्राजिलका लागि रिचार्लिसनले ह्याट्रिक गरे । उनले खेलको सातौं, २२ औं र ३० औं मिनेटमा गोल गरे । यस्तै पाउलिन्होले इन्जुरी टाइममा एक गोल थपे ।

जर्मनीका लागि नादिएम अमिरीले ५७ औं र राग्नर अचेले ८४ औं मिनेटमा गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा ब्राजिलले पेनाल्टी पाएपनि माथेउस कुन्हाले गोल गर्न सकेनन् ।

६३ औं मिनेटमा जर्मनीका म्याक्सिमिलियानो आर्नोल्ड दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । यसै समूहको अर्को खेलमा आइभरीकोष्टले साउदी अरेबियालाई २–१ ले पराजित गरेको छ ।

यस्तै पुरुष फुटबल अन्तर्गत नै समूह सी को खेलमा अर्जनेटिना भने पराजित भएको छ । अर्जेन्टिना अष्ट्रेलियासंग २–० ले पराजित भएको हो । अष्ट्रेलियाको लागि लाभलन वेल्सले १४ औं र मार्को तिलिओले ८० औं मिनेटमा गोल गरे ।

पहिलो हाफको इन्जुरी टाइममा फ्रान्सिस्को ओर्टेगा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिनाले दोस्रो हाफभर १० खेलाडीमा सीमित थियो ।

यस्तै समूह ए अन्तर्गत घरेलु टोली जापानले साउथ अफ्रिकालाई १–० ले पराजित गरेको छ । जापानका लागि ताकेफुसा कुबोले ७१ औं मिनेटमा गोल गरे ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.