क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा रहेकाले पूर्ण स्वास्थ्य सतर्कता अपनाउनका लागि नगरवासीमा अनुरोध गरिएको छ ।
नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बुधबारको बैठकले जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिले साउन ८ गते विहानको राती १ बजेदेखि साउन १४ गते राती १२ बजेसम्मका लागि कायम राखेको निषेधआज्ञा कडा रुपमा पालना गर्न र गराउन नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ ।
नगरमा हाल १ सय जना सक्रिय संक्रमित रहेकाले अति आवश्यक काम पर्दा मात्र पूर्ण स्वास्थ्य सावधानी अपनाएर हिँडडुल गर्न तथा सवै नगरवासीमा पूर्ण स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरिएको छ । पसल तथा कार्यालय सहित सम्पूर्ण स्थानमा कम्तिमा डेढ मिटरको दूरी कायम गर्ने, अनिवार्य रुपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने सहितका स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा थप अनुरोध गरिएको नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका सहसंयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाउनु भयो । वास्तोलाको अध्यक्षतामा बैठक बसेको थियो । स्वास्थ्य मापदण्ड विपरित निषेधआज्ञा उल्लंघन गरेमा स्थानीय प्रशासनमार्फत कानूनी कारवाही गरिने उल्लेख छ । नगरपालिका कार्यालयले सो सम्बन्धि विज्ञप्ति समेत जारी गरेको छ ।
जिल्लाले शैक्षिक संस्था, जिमखाला, पार्टी प्यालेस, खेलकुदस्थल, गुद्री बजार, हाटबजार, सब्जीमण्डी, स्वीमिङ पुल, मेला, महोत्सव, सभा, सम्मेलन, जुलुस तथा सामुहिक जमघटका कुनै पनि कार्यक्रम गर्न निषेध गरेको छ । बेलुका ८ बजेबाट विहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने निषेधआज्ञा जारी भएको छ ।