मेस्सीले भने– ‘फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना छ’ - Crazysaptahik.com

मेस्सीले भने– ‘फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना छ’

भर्खरै मात्र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका लियोनल मेस्सीले फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना रहेको बताएका छन् ।

उनले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितिसकेका छन् । अब, पिएसजीबाट जित्न चाहन्छन् । ‘मेरो लक्ष्य र मेरो सपना थप एकपटक च्याम्पियन्स लिग जित्ने हो ।

मलाई लाग्छ, हामीसँग यस्तो गर्नसक्ने टोली छ,’ पिएसजीले मेस्सीलाई सार्वजनिक गर्नका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

पिएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । २०२० को च्याम्पियन्स लिग फाइनलमा बार्यन म्युनिखले उसलाई हराएको थियो ।

बार्सिलोनामा २१ वर्ष बिताएर मेस्सी पिएसजीमा आबद्ध भएका हुन् । ३४ वर्षीय मेस्सी १३ वर्षको छँदा बार्साको युथ टोलीमा आबद्ध भएका थिए ।

उनले पछिल्लो १७ वर्ष बार्साको सिनियर टोलीबाट खेले । त्यसक्रममा ७ सय ७८ खेल खेल्दै ६ सय ७२ गोल गरे ।

उनले यसक्रममा ३५ वटा उपाधि जिते । त्यस्तै ६ पटक बेलाने डि अर जिते । ‘बार्साविरुद्ध खेल्दा अनौठो हुनेछ ’

बार्सिलोना र पिएसजीबीच च्याम्पियन्स लिगमा प्रतिस्पर्धा हुनसक्ने विषयमा मेस्सी सचेत छन् । ‘बार्सिलोना मेरो घर हो ।

म त्यहाँ सानैदेखि छु र त्यहाँ धेरै कुराहरु बाँचेको छु’ उनले भने, ‘मलाई थाहा छैन, हामीले फेरि एकअर्काविरुद्ध भिड्नुपर्ने पनि हुनसक्छ ।

तर, बार्सिलोना फर्केर जान पाउनु निकै राम्रो हुनेछ । बार्सिलोनाको होम ग्राउन्डमा अर्कै जर्सी लगाएर खेल्नु निकै अनौठो हुनेछ । तर, यस्तो हुनसक्छ र हामी हेर्नेछौँ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.