
जर्मनी तथा बायर्न म्युनिखका पूर्व स्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी इतिहासकै उत्कृष्ट स्ट्राइरहरुमध्ये एक मानिन्छन् ।
मुलरले पश्चिम जर्मनीका लागि ६२ खेल खेल्दै ६८ गोल गरेका थिए । १९७८ को विश्वकप फाइनलमा नेदरल्यान्डस्विरुद्ध उनले नै निर्णायक गोल गरेका थिए ।
१५ वर्षसम्म बायर्न म्युनिखबाट खेल्ने क्रममा उनले ५ सय ९४ खेलमा ५ सय ४७ गोल गरेका थिए । बायर्न म्युनिखले इतिहासकै एक महान् व्यक्ति रहेको जनाएको छ ।

‘उनी बिना क्लब आजको अवस्थामा हुने थिएन । उनको नाम र सम्झना सधैं अमर रहनेछ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मुलरले दुईपटक जर्मन फुटबलर अफ द इयरको उपाधि जितेका थिए । उनले १९७० को विश्वकप फुटबलमा सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट जितेका थिए ।
त्यही वर्ष उनले बेलोन डि’ अर पनि जिते । दुई वर्षपछि उनले पश्चिम जर्मनीलाई युरोपियन च्याम्पियनसिप जिताउन सहयोग गरे ।
सोभियत युनियनविरुद्धको फाइनलमा खेलमा पश्चिम जर्मनीलाई ३–० को जित दिलाउने क्रममा उनले दुई गोल गरेका थिए ।
‘गर्ड मुलरको निधनको खबरले हामीलाई गहिरो शोकमा पारेको छ,’ बायर्नका प्रमुख कार्यकारी ओलिभर कहानले भने ।


