
क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण सुरु गरेको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र उर्लाबारी नगरपालिकाको सहकार्यमा ८ लाख ४० हजा रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिने नगरपालिकाको महिला बालबालिका शाखाकी प्रमुख चन्द्रकला सुब्बाले बताइन् ।
मंगलबार नगर प्रमुख खड्ग फागोको सभापतित्वमा आयोजित कार्यक्रममा सहायता सामग्री वितरण सुरु गरिएको हो । सो अवसरमा नगर प्रमुख फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारीले सामग्री वितरण गरे । नगरका सबै वडाका १ सय ९८ जना अपाङ्गता भएकाहरुलाई सहायता सामग्री वितरण गर्ने जनाइएको छ ।
मंगलबार वडा नं. १, २, ३, ४ र ७ का अपाङ्गता भएकाहरुलाई सामग्री वितरण गरिएको छ भने बुधबार वडा नं. ५ र ६ कालागि शिवालय मन्दिरमा तथा विहिबार वडा ८ र ९ का लागि वडा कार्यालयमा वितरण गरिने सुब्बाले जानकारी दिइन् । नगरपालिकाले नर्मल ह्विल चेयर २८ थान, डिजिटल ह्विल चेयर ४ थान, नर्मल श्रवण यन्त्र ६७ थान, डिजिटल श्रवणयन्त्र २ थान, ट्वाइलेट चेयर ९ थान, लठ्ठी ७५ थान, वैशाखी १० थान र सीपी चेयर ३ थान वितरण गर्ने जनाएको छ ।
गत पुसमा वडा वडामा अपाङ्गता भएकाहरुका लागि आयोजना गरिएको स्वास्थ्य शिविरबाट सिफारिस भएकाहरुलाई अहिले सहायता सामग्री प्रदान गरिएको हो । उर्लाबारीमा ८ सय ८२ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।

