
एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत समूह एफमा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ । छनोट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ ।
समूह एफमा नेपाल र फिलिपिन्ससँगै हङकङ पनि छ । यस्तै नेपालले दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१ मा खेल्नेछ ।
फिलिपिन्स र हङकङ दुवै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । फिलिपिन्स र हङकङबीच समूहको अन्तिम खेल सेप्टेम्बर २४ मा हुनेछ ।
छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियम तास्केन्तमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । यस समूहको खेल शुरुमा नेपालमा हुने भनिए पनि पछि न्युट्रल भेन्युमा सारिएको हो ।
एसियन कप २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुनेछ । अहिले नेपालले छनोटका लागि बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको छ । बन्द प्रशिक्षणमा २८ खेलाडी छन्


