क्रेजी संवाददाता
पथरी । वनबाट चोरी गरेर ल्याएको काठ किन्ने मोरङको पथरीशनिश्चरे–७ का समिल सञ्चालक कृष्णकुमार कोइराला ३ लाख धरौटीमा छुटेका छन् ।
कोइरालालाई जंगलबाट चोरी गरेर ल्याएको काठ किनेको आरोपमा भदौ १५ गते सव डिभिजन वन कार्यालय पथरीले पक्राउ गरेको थियो ।
काठ चोरी गरेर बिक्री गर्न लागेको आरोपमा पथरीशनिश्चरे—१० का ३१ वर्षीय हेमकुमार माझीलाई पनि असोज ४ गते पक्राउ परेका थिए । जिल्ला अदालत मोरङले कोइरालालाई तीन र माझीलाई १ लाख धरौटी लिएर छाडेको डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्रकुमार कार्कीले जानकारी गराए ।
कोइरालाको समिल नगरको ७ नम्बर वडाको बिष्णु चौकमा भएपनि घर भने १० ऐयाबारी नै हुन् । सोही मुद्दामा परेका जुठे भनेर चिनिने महेन्द्र खवास भने परार भएको बुझिएको छ । कोइरालाको समिलबाट ५२.१९ क्युफिट सखुवाको १२३ थान र २ क्युफिट गोलिया एक थान काठ बरामद भएको डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
माझी र खवासले पशुपति सामुदायिक वन समूहको क्षेत्रबाट काठ चोरी गरेर त्यहाँ बिक्री गरेको बुझिएको छ । पछिल्लो समयमा विभिन्न सामुदायिक तथा राष्ट्रिय वनबाट काठ चोरी तस्कारी बढेको बुझिएको छ ।