
प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले २–२ को बराबरी खेलेका छन् । रोमाञ्चक बराबरीपछि दुवैले अंक बाडेका हुन् ।लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा चारै गोल भएको थियो ।
खेलमा दुई पटक लिभरपुलले अग्रता लिए पनि सिटीले पुनरागमन गरेको थियो । खेलको ५९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए पनि १० मिनेटपछि फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए । ७६औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै पुनः लिभरपुललाई अग्रता दिलाए ।
तर ८१औं मिनेटमा केभिन डी ब्रुएनाले सिटीका लागि बराबरी गोल गरे । बराबरीले लिभरपुलको शीर्ष स्थानमा उक्लने मौका गुमेको छ । लिभरपुल ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । १४ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लेको छ ।


