
क्रेजी संवाददाता
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले बैंकको कर्जाको ब्याजदर घटाउन सरकारसँग माग गरेका छन् । विराट व्यापार संघले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पठाउँदै ब्याजदर घटाउन माग गरेको हो ।
संघको अगुवाइमा पुगेका पदाधिकारी र उद्योगी व्यापारीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत सरकारलाई ज्ञापत्र पठाएका हुन् । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत अर्थमन्त्रीलाई सम्बोधन गरिएको उक्त विषयको ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
अर्थमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा सरकारले कोभिड न्यूनीकरणको उद्देश्यसहित जारी गरेको लकडाउन र निषेधाज्ञा पालना गर्ने क्रममा उद्योग व्यवसाय संकटमा परेको र ठूलो नोक्सानी भएको अवस्थामा पछिल्लो समय बैंकहरूले कर्जामा ब्याजदर बृद्धि गरेका कारण व्यापारीहरू थप आहत भएको उल्लेख गरिएको छ । रुग्ण भएका उद्योगहरूलाई पुनरुत्थान गर्नु राज्यको दायित्व भएकाले ब्याजदर बृद्धि लगायतका समस्यालाई सहजीकरण गरिदिन संघले माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले उद्योगी व्यवसायीहरूले बुझाएको ज्ञापनपत्र सम्बोधनका निम्ति सम्बन्धित मन्त्रालयमा पठाइने बताए । संघले नेपाल राष्ट्र बैंकका गर्भनरलाईसमेत ज्ञापनपत्र पठाएको छ ।

