
फेरान टोरेसको दुई गोल मद्दतमा युरो विजेता इटलीलाई २–१ ले पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै पराजित भएको हो ।
यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ । सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएयता इटली ३७ खेलमा अपराजित थियो ।
सान सिरोमा भएको खेलमा फेरानले १७औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए । इटलीका लागि लरेन्जो पेलेग्रिनीले ८३औं मिनेटमा एक गोल फर्काए ।
४२औं मिनेटमा लियोनार्दो बोनुचीले रातो कार्ड पाएपछि इटली १० खेलाडीमा समेटिएको थियो । यसं खेलमा स्पेनका १७ वर्षीय गाभीले राष्ट्रिय टिममा डेब्यु गर्दै स्पेनका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बने । स्पेनले अब उपाधिका लागि फ्रान्स र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ ।


