कानेपोखरी गाउँपालिकाद्धारा सपिङ सेन्टरहरूको अनुगमन - Crazysaptahik.com

कानेपोखरी गाउँपालिकाद्धारा सपिङ सेन्टरहरूको अनुगमन

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले ६ नं. वार्ड रमाइलोमा रहेका २ वटा सपिङ सेन्टरहरूमा सोमबार अनुगमन गरेको छ । उपभोक्ताबाट म्याद गुज्रेका सामानहरू बिक्री भइरहेको भनी निवेदन परेपछी अनुगमन गरिएको पालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक राजमती इङ्नामले बताइन् ।

इङ्नामको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, रमाइलो प्रहरीका प्रहरी नायब निरीक्षक (सइ) देवि राउत, नगर प्रहरी लगायतको टोलिले कानेपोखरी सपिङ मल र रमाइलो सपिङ सेन्टरमा अनुगमन गर्दा म्याद सकिन ३-४ दिन बाँकी रहेका चकलेट, चाउचाउ, तेल, पिठो लगायतका सामान बरामत भएको र ती सामाग्रीहरूलाई तुरुन्तै नष्ट पनि गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । उनले भने, ‘ हामीले आगामी दिनमा गुणस्तरीय वस्तु बिक्री वितरण गर्न, म्याद सकिन लागेका सामानहरूमा ध्यान दिन, उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरेर खाद्य सामान राख्न लगायतका सुझावहरू दिएका छौं । यदि पुनः लापरबाही दोहोरिएका कार्बाहीको दायरामा ल्याउनेछौँ ।’

अनुगमन तथा खबरदारीका कार्यहरू पालिका स्तरबाट न्यून भइरहेको अवस्थामा अब हामी आगामी दिनहरूमा निरन्तर मुख्य-मुख्य बजार क्षेत्रका होलसेल, खाद्यान्न पसल, किराना पसल, मासुजन्य पसल लगायतमा कडाईका साथ अनुगमन गरी खबरदारी गर्नेछौं र यस कार्यको योजना अघि बढिसकेको अनुगमन समिति संयोजक इङ्नामले बताइन । सपिङ मलको अनुगमनपछि हाम्रो क्षेत्रका अन्य धेरै पसलहरूमा मानव शरीरलाई हानी गर्ने अखाद्य वस्तु, कालोबजारी, म्याद गुज्रिएका सरसामानको बिक्री वितरण भइरहेको सूचना पाएका छौं हामी तत्काल छड्के अनुगमन गर्नेछौं, साथै मापदण्ड पूरा गर्न सचेत बनाउनेछौँ, ‘उनले भनिन । सँगसँगै दर्ता नभएको पसलहरूलाई दर्ता गराउन, नवीकरण नभएकालाई नवीकरण गराउने कार्यमा समेत लाग्ने सुनाइन ।

यस भन्दा अगाडि पालिकाले दोश्रो लहरको कोरोना सुरु भएसँगै कोभिड–१९ को बढ्दो महामारीको अवसर छोपी पसले व्यपारीहरुले विभिन्न सरमानको कालोबजारी गर्न सक्ने, बढी मूल्यमा सामान बेच्न तथा म्याद गुज्रेको सरसामान बेच्न सक्ने सम्भावना हुने भन्दै अनुगमन गरेको थियो ।

सम्बन्धित खवर