
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको ३ नम्बर वडा कार्यालय भवनको आज (विहिबार) उद्घाटन भएको छ ।
वडाले एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुख दिलिपकुमार राई (किशार), उपप्रमुख यमुना विष्ट बास्तोलाको अगुवाईमा नव निर्मित कार्यालय भवनको उद्घाटन भएको हो । उक्त अवसरमा बोल्दै नगर प्रमुख राई र उपप्रमुख बास्तोलाले स्थानीय जग्गादाताहरुको अमूल्य योगदानमा वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा कार्यालय भवन निर्माण सहितका गतिविधिमा नगरको सक्रियता बढाउन पाएको जनाउनुभयो ।

वडाध्यक्ष डम्बरबहादुर चेम्जोङको अध्यक्षताको कार्यक्रममा, ७ नम्बर वडाध्यक्ष कपिलमणि ढकाल, नगरका लेखा अधिकृत पिताम्बर वस्ती, समाजसेवी युवराज वास्कोटा सहितले मन्तव्य राख्नुभएको थियो ।

कार्यालयका लागि नन्दीकेशर अधिकारी र कृष्णमाया अधिकारी, रुद्रप्रसाद पोखरेल र बासुका पोखरेल, झनप्रसाद पोखरेल र पुष्पा पोखरेल, खोमप्रसाद पोखरेल र ज्ञानु पोखरेलबाट डेढ/डेढ कठ्ठा जग्गा दान भएको छ ।

यस्तैगरी अन्य दातामा घनश्याम कोइराला र सुशीला कोइराला, बद्रिनाथ कोइराला र रुकमिणी भट्टराई कोइराला, केदारनाथ कोइराला र जमुना गौतम कोइराला, थमानसिंह सुन्दास र पुष्पकुमारी सुन्दासबाट एक/एक कठ्ठा गरी जम्मा १० कठ्ठा जग्गा दान भएपछि संघीय सरकारको बजेटमा त्यहाँ २ तले भवन निर्माण भएको हो । कार्यक्रममा जग्गादाताहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ ।

सो कार्यक्रममा पथरीशनिश्चरे– नं. वडाका गायक नन्दु गुरुङ सांगीतिक प्रस्तुति पस्केका थिए । गुरुङले गीत गाउँदा उपस्थित वडावासीहरु खुशीले नाचेका थिए ।


