
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आजको खेलमा बेलबारी फुटबल क्लब विजयी भएको छ ।
बेलबारीले फुटबल क्लबले प्रतिभा युवा समाज सुधार क्लब पथरीशनिश्चरेलाई १ – ० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
खेलको ४४ औं मिनेटमा बेलबारीका कासिम राईले गरेको गोल नै निर्णायक बन्न पुग्दा प्रतिभा युवा समाज सुधार क्लब हार स्वीकार्न बाध्य बन्यो । प्रतिभा युवा समाज सुधार क्लबले खेलमा बराबरी गर्ने अवसरहरु पाए पनि अवसरको सदुपयोग गर्न नसक्दा बेलबारी फुटबल क्लबलाई जित सुम्पन पुग्यो । खेलको मेन अफ द म्याच विजेता टिमका शंकर राई घोषित हुदैँ नगद २ हजार ५ सय रुपैँया प्राप्त गरे । आज भएको फुटबल प्रतियोगिताको प्रमुख अतिथि वडा नं. १० का वडाध्यक्ष तथा युवा समाजसेवी सागर राई रहेका थिए ।
थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा सुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको प्रस्तावित पथरी रंगशालामा भइरहेको छ ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल पथरी एफ.सी. र दमक एफ.सी. बिच हुनेछ । पथरीले यस अघिको खेलमा लेटाङ फुटबल क्लबलाई पराजित गरिसकेको छ भने दमक पहिलो खेल खेल्दैछ । प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङले जानकारी गराए । प्रतियोगीताको फाइनल खेल कार्तिक १९ गते हुनेछ ।

