
क्रेजी संवाददाता
केराबारी । केराबारीमा भइरहेको स्व. राजु सोदेन स्मृति कपको आज भएको दोस्रो सेमिफाइनल खेलमा १० नवोदय फुटबल क्लब पथरी विजयी भएको छ ।
फेयर फुटबल क्लव इटहरीलाई ४ गोलको फराकिलो अन्तरले स्तब्ध पार्दै टेन नवोदय फाइनलमा प्रवेश गरेको हो । खेलमा ३ विदेशी खेलाडी सहित मैदान उत्रेको १० नवोदयलाई विजयी गराउन विदेशी खेलाडी हेन्ड्री एक्लैले ३ गोल र जोनले १ गोल गरे ।
हेन्ड्रीले पहिलो हाफको ९ औं मिनेटमा फ्रिकिक मार्फत् प्रहार गरेको बल क्रसबारमा ठोकिएर फर्किएको बललाई सदुपयोग बललाई जाली चुमाउन सफल बनेका थिए । त्यसपछि पुनः खेलको २८ औं मिनटमा र दोस्रो हाफको ५३ औं मिनटमा गोल गरी हेन्ड्रीले खेलमा ह्याट्रिक गरे । अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका जर्सी नं.२ का अर्का विदेशी खेलाडी जोनले खेलको ५३ औं मिनटमा गोल थपे ।
बिजेता टिम पथरीका खेलाडी हेन्ड्रीले खेलको म्यान अफ द म्याच पनि घोषित भए । उनले नगद २५ सय सहित ट्रफी र मेडल सहित पहिलो गोलकर्ताको रुपमा थप नगद ३ हजार प्राप्त गरेका छन् । जितसंगै १० नवोदय पथरीले सोमबार हुने फाइनल खेलमा झापा फुटबल क्लवसँग प्रतिस्पर्धा गर्ने खेल मूल आयोजक समितिका प्रवक्ता अनिल ठकुरीले जानकारी दिए । विजेता टिमले नगद रु. १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजकका सचिव विमल कुमार चेम्जोङले जनाए ।

