
आईसीसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । सुपर–१२ अन्तर्गत आइतबार राति भएको ग्रुप–२ को खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।
यसअघि भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पहिलो जित हात पार्ने क्रममा न्युजिल्याण्डले भारतले दिएको १११ रनको लक्ष्य १४.३ ओभर खेल्दै दुई विकेट गुमाएर पूरा गरे । जितपछि न्युजिल्याण्डले दुई अंक जोडेको छ ।
न्युजिल्याण्ड पहिलो खेलमाम भने पाकिस्तानसँग पराजित भएको थियो । भारत दुई हारपछि अंकविहीन छ ।न्युजिल्याण्डको जितमा ओपनर डार्यल मिचेलले सर्वाधिक ४९ रन बनाए ।
अर्धशतकबाट एक रनले चुकेका उनले ३५ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गरे । कप्तान केन विलियम्सले ३१ बल खेल्दै ३ चौका मद्दतमा अविजित ३३ रन बनाए । डेभोन कनवे दुई रनमा अविजित रहे ।
यस्तै मार्टिन गप्टिलले २० रन बनाए । भारतका लागि जसप्रित बुमराहले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको भारतले सात विकेट गुमाएर ११० रन बनाएको थियो ।
भारतका लागि रवीन्द्र जडेजाले अविजित २६ रन बनाउँदा हार्दिक पाण्ड्याले २३ रन जोडे । भारतलाई कम स्कोरमा रोक्न न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार ओभरमा २० रन खर्चेर तीन तथा ईश शोधीले चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिए । टिम साउदी र एडम मिल्नेले समान एक÷एक विकेट लिए ।


