बार्सा रोकियो, अगुएरो अस्पतालमा - Crazysaptahik.com

बार्सा रोकियो, अगुएरो अस्पतालमा

अलाभेससँगको खेलका दौरान सर्जियो अगुएरोको छातीमा समस्या देखिएपछि उनी अस्पताल नै जानु परेको छ । रोनाल्ड कुमन बर्खास्त भएपछि शनिबार पहिलो खेलमा बार्सा आलाभेससँग १–१ को बराबरीमा रोकियो ।

मेम्फिस डिपायले बार्सिलोनालाई अग्रता दिलाए पनि लुइस रिओजाले खेल बराबरी गरेका थिए । बराबरीपछि बार्सिलोना लिगको नवौँ स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा ८ अंकले पछि परेको छ ।

खेलका दौरान अगुएरो छाती समाउँदै मैदानमा ढल्न पुगेका थिए । हाफ टाइमअघि उनको मैदानमा नै केहीबेर उपचार गरिएको थियो भने त्यसपछि उनलाई मैदानबाहिर लगिएको थियो ।

बार्सिलोनाले पछि उनको मुटुको परीक्षणका लागि अस्पताल लगिएको जानकारी दिएको थियो । बार्साका अन्तरिम म्यानेजर सर्जी बार्जुआनले म्यानचेस्टरका सिटीका पूर्व स्ट्राइकरलाई एम्बुलेन्समा अस्पताल लगिएको बताए ।

उनले ला लिगा टिभीसँग कुराकानी गर्दै भने, ‘मलाई अरु धेरै भन्न सक्दिनँ । उनलाई अस्पताल लगिएको छ र उनको परीक्षण भइरहेको छ ।’ ३३ वर्षीय खेलाडीले बार्सिलोनाका लागि पहिलो खेलमा शुरुवात गरिरहेका थिए ।

१० वर्ष सिटीमा रहेका अगुएरो यो सिजन मात्र बार्सिलोना आएका हुन् । सिटीमा रहँदा उनले ३९० खेलमा २६० गोल गरेका थिए । शनिबार नै भएका अन्य खेलमा सेभियाले ओसासुनलाई २–० ले हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै, भ्यालेन्सियाले पनि भिल्लेरियाललाई समान गोलअन्तरले हरायो । भ्यालेन्सिया लिगको १० औँ स्थानमा र भिल्लेरियाल १३ औँ स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.