क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरेमा भएको पिट्सवर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी एफ.सी.ले जितेको छ ।
आज (विहिवार) भएको फाईनल खेलमा दमक फुटबल एकेडेमीलाई सडनडेथमा बेलबारीले पराजित गरेको हो । विजेता बेलबारीले नगद १ लाख १ हजार रुपैयाँ , ट्रफी प्राप्त गर्यो भने उपविजेता बनेको दमकले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि टाइब्रेकरतर्फ धकेलिएको खेलमा टाइब्रेकरले समेत निर्णय दिन नसकेपछि खेल सडन–डेथमा गएको थियो । सडनडेथमा दमकका राजन धिमाल गोल गर्न चुकेपछि दमक उपविजेतामा सीमित बन्न पुग्यो ।
टाइब्रेकरमा बेलबारीका लागि आकाश बस्नेत, वेल्सन गिरी, विवेक पौडेल, शंकर राई, कासिम राई, पारस खत्री र विनोद राईले गोल गरेका थिए भने दमकका लागि रोशन धिमाल, आशिष लिम्बू, गौरव धिमाल, ओम प्रकाश तामाङ्ग, रोशन तामाङ्ग र किस्मत लिम्बुले गोल गरे भने राजन धिमालको प्रहार विफल भएको थियो । आजको खेलको मेन अफ द म्याच दमकका गौरब धिमाल बन्दै नगद २ हजार ५ सयँ प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दमकका आशिष लिम्बु बने भने उत्कृष्ट डिफेन्सको उपाधी बेलबारीका सुमन श्रेष्ठ पाए । यसैगरी प्रतियोगिताको उत्कृष्ट फरवार्ड दमकका किस्मत लिम्बू, उत्कृष्ट गोल रक्षक बेलबारीका किशोर गिरी घोषित भए । यस्तै सर्वाधिक गोलकर्ता बेलबारीका विवेक पौडेल बने भने उत्कृष्ट मिडफिल्डर बेलबारीका पारस खत्री भए । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक बेलबारी फुटबल क्लबका प्रशिक्षक शंकर सुवेदी बने । सम्पूर्ण विधागत उपाधि विजेता खेलाडी र प्रशिक्षकले जनही ५ हजार नगर पुरस्कार प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय प्राप्त गरे ।
थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा सुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका थिए ।